विश्वकप, गोल्डेन बुट र गोल्डेन बल एकैपटक जित्ने पाउलो रोसीको निधन

  • प्रकाशित मिति : २५ मंसिर २०७७, बिहीबार ०४:५३
  • समाचार सुत्र

नेपाल ज्योति-इटालियन लेजेण्ड तथा फिफा विश्वकप फुटबलको विजेता पाउलो रोसीको निधन भएको छ ।

रोसीको ६४ वर्षको उमेरमा मंगलबार निधन भएको हो । उनले काम गरेको आरएआई टीभीले रोसीको निधनको खबर सार्वजनिक गरेको हो ।

युभेन्ट्स र एसी मिलानका पूर्व खेलाडी समेत रहेका रोसीले सन् १९८२ मा विश्वकप जितेका थिए ।

उनलाई विश्वकै उत्कृष्ट फरवार्डमध्ये एक मानिँदै आएको छ । यस्तै सन् १९८२ मा इटलीलाई स्पेनमा विश्वकप जिताउँदा उनले गरेको उत्कृष्ट प्रदर्शनका लागि पनि उनलाई सम्झिइन्छ ।

इटलीले विश्वकप फाइनलमा पश्चिम जर्मनीलाई ३-१ ले पराजित गर्दा रोसीले पहिलो गोल गरेका थिए ।

उनकै ह्याट्रिकमा इटलीले उपाधिको दाबेदार मनिएको ब्राजिललाई ३-२ ले पराजित गर्दै चाँडै घर फर्काएको थियो । यस्तै सेमिफाइनलमा इटलीले पोल्याण्डलाई २-० ले पराजित गर्दा दुवै गोल रोसीले गरेका थिए ।

रोसीले विश्वकपमा गोल्डेन बुट र गोल्डेन बल दुवै अवार्ड जितेका थिए । साथै उनले त्यही वर्ष बालोन डेओर अवार्ड समेत जितेका थिए । उनले उक्त विश्वकपमा कूल ६ गोल गरेका थिए ।

रोसीले इटलीका लागि ४८ खेल खेल्दै २० गोल गरे । उनले चार सिजन युभेन्ट्समा बिताउँदा दुई सिरी ए, एक युरोपियन कप र एक कोपा इटालिया जिते ।