घनश्याम भुसालको घरमै पुगेर प्रचण्डले दिए समवेदना

  • प्रकाशित मिति : २५ जेष्ठ २०८०, बिहीबार १८:४०
  • समाचार सुत्र

रुपन्देही । पितृशोकमा परेका नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालको परिवारलाई प्रधानमन्त्री पुष्पकमल दाहालले घरमै पुगेर समवेदना व्यक्त गरेका छन् ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका- ९ स्थित मणिग्राममा रहेको भुसाल निवास पुगेर प्रधानमन्त्री दाहालले समवेदना व्यक्त गरेका हुन् । प्रधानमन्त्री दाहालले स्वर्गीय जगन्नाथ भुसालप्रति श्रद्धाञ्जलीसमेत अर्पण गरेका थिए ।

उनले शोकलाई शक्तिमा बदल्न अनुरोध गरे । उनले जन्मपछि मृत्यु स्वाभाविक रहेकाले मृत्यु संस्कारलाई सबैले स्वीकार्नुको विकल्प नरहेको उनले जनाए ।

आफ्नो अभिभावक गुमाउँदा दुःखपीडा हुने तर प्रकृतिको नियम मान्नै पर्ने प्रचण्डको भनाइ थियो ।

भुसाल निवासमा समवेदना प्रकट गर्न बिहीबार प्रधानमन्त्री दाहालसँगै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, परराष्ट्रमन्त्री एनपी साउद, वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतो, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरी, संघीय सांसद तथा पूर्वमन्त्री देवेन्द्र पौडेल, लुम्बिनी प्रदेश सरकारका मन्त्री तथा प्रदेशसभा सदस्यलगायत पुगेका थिए ।

घनश्यामका पिता जगन्नाथ भुसालको आइतबार ९७ वर्षमा निधन भएको थियो । जगन्नाथको मृत्यु भएको पाँचौं दिन भुसाल निवासमा प्रधानमन्त्रीसहित मन्त्रीहरु समवेदना प्रकट गर्न गएका हुन् । स्वर्गीय जगन्नाथका श्रीमती, चार छोरा र तीन छोरी छन् ।