काठमाडौं-प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठक सकिएको छ । करिब २ घण्टा बसेको बैठक सकिएको हो ।
सातामा सोमबार र बिहीबार नियमित बस्ने गरेको बैठक आज बसेको हो । आजको बैठकमा समसामयिक विषयमा छलफल भएको एक मन्त्रीले जानकारी दिएका छन ।
विगत नौ महिनादेखि बन्द फिल्म गतिविधि सर्तसहित सञ्चालन गर्न सरकारले अनुमति दिएको छ । मंगलबार बसेको मन्त्री परिषद बैठकले कोभिड–१९ मापदण्ड पालना गर्दै छायांकन गर्न ससर्त अनुमति दिएको हो । तर, फिल्म हल खुलाउने निर्णय चाहिँ भएको छैन ।
मन्त्रालयले फिल्म गतिविधि ससर्त खुला गर्ने प्रस्ताव मन्त्रीपरिषदमा लगेको थियो । फिल्म हलको छाता संस्था चलचित्र संघले पुस १० गतेदेखि एकपक्षीय रुपमा हल खुला गर्ने घोषणा गरिसकेको छ । तर, सरकार यस कुरामा भने मौन छ ।
फिल्म छायांकन गर्दा अब कास्ट एन्ड क्रिउले अनिवार्य कोभिड–१९ मापदण्ड पालना गर्नुपर्ने हुन्छ । विश्वव्यापी कोरोना महामारीको असर नेपालमा पनि देखिन थालेपछि २०७६ चैत ११ गतेबाट लकडाउन घोषणा गरिएको थियो । लकडाउने लगत्तै फिल्मको छायांकन रोकिएको थियो ।
सरकारले अनुमति नदिएपनि केही फिल्म छायांकन सुचारु भएको थियो भने, म्युजिक भिडियो छायांकन निरन्तर थियो । मोफसलमा जातिय फिल्म छायांकन पनि धमाधम भैरहेका थिए ।